लगातारको वर्षासँगै भारीदेखि अति भारी वर्षाको सम्भावना बढेपछि देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ । बाढी, पहिरो, सडक भासिने र कटानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले विभिन्न सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक्नुका साथै केही सडक पूर्ण रूपमा बन्द गरेका छन् ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । यस्तै, रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने सडकको ठूलो भाग नदीले कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन । स्याफ्रुबेँसीसम्म पुग्न वैकल्पिक रूपमा टोखा–छहरे, विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, कालिकास्थान, स्याउबारी, राम्चे र धुन्चे हुँदै जाने एकतर्फी कच्ची सडक प्रयोग गर्न सकिने जनाइएको छ ।
यसैगरी, सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाका अन्य भित्री सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन र पैदल यात्रुको आवागमन रोकिएको छ ।
उता, दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेतको तुलसीपुर–कालीमाटी खण्डमा रातिको आवागमन बन्द गरिएको छ ।
मकवानपुरमा कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ । सिन्धुलीको बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म तथा दोलखाका सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ । काभ्रेमा बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीलाई पनि राति रोक लगाइएको छ ।
यसैबीच काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र वडा नम्बर ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि ठूला सवारी सञ्चालन हुन सकेका छैनन् । ओखलढुंगाको भँडारे खोलामा लेदोसहितको बाढी आएर करिब १५ मिटर सडकमा क्षति पुर्याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
धादिङमा पृथ्वी राजमार्गका कृष्णभीर, टिङराङखानी र परेवा भीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत माडिचौर खण्डमा जोखिम बढेपछि यातायात रोकिएको छ ।
त्यस्तै, भोजपुरमा पनि साँझदेखि बिहानसम्म भित्री तथा सहायक सडकमा आवागमन बन्द गरिएको छ भने मध्यपहाडी लोकमार्गमा अत्यावश्यक सवारीलाई प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
मनाङमा बेंसीसहर–खाङसार सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन रोकिएको छ । चामे–बेंसीसहर सडकको खोत्रो क्षेत्रमा ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
चितवनको नारायणगढ–मुग्लिन र धादिङको पृथ्वी राजमार्गमा समेत रातिको समयमा यातायात रोकिँदै आएको छ । वर्षा जारी रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र प्रशासनले तोकेको समय तथा वैकल्पिक मार्गको पालना गर्न आग्रह गरिएको छ ।

