बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकको अवस्था सहज नहुँदा कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् । सडक सञ्चालनमा आए पनि यातायात तथा ढुवानी सहज हुन नसक्दा आयात गरिएका विद्युतीय गाडी गन्तव्यसम्म पुर्याउन समस्या भएको हो ।
सशस्त्र प्रहरीका अनुसार कोरलानाकाको खुला क्षेत्रमा २ हजारभन्दा बढी विद्युतीय गाडी पार्किङ गरेर राखिएका छन् । त्यस्तै, न्हेचुङस्थित भन्सार यार्डमा २०० भन्दा बढी इभी रोकिएका छन् । भन्सार जाँचपासपछि जोमसोम ल्याइएका करिब ५०० भन्दा बढी विद्युतीय गाडी पनि दुईवटा पार्किङस्थलमा राखिएका छन् ।
बिवाइडी कम्पनीका मात्रै २ हजारभन्दा बढी गाडी मुस्ताङमा रोकिएको साइमेक्स इंकका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार असोज ११ गतेअघि करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइएको थियो । त्यसपछि सडकको अवस्थाका कारण सवारीसाधन ढुवानी प्रभावित भएको हो ।
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट विद्युतीय गाडी आयात गर्ने क्रम बढेको छ । साइमेक्स इंकले यस नाकाबाट करिब ३ हजार विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको छ । तर, बेनी–जोमसोम सडकको कमजोर अवस्थाले आयातित गाडी समयमै गन्तव्यमा पुर्याउने योजनामा चुनौती थपिएको छ ।
यसैबीच, कोरलानाकाबाट आयात गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर सोमबारसम्म मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । रोकिएका कन्टेनर बाहिरिन थालेपछि सामान ढुवानीका लागि केही खाली कन्टेनर पुनः कोरलानाकातर्फ उकालो लागेका छन् ।
रसुवा र तातोपानी नाकाबाट हुने आयात प्रभावित भइरहेका बेला कोरलानाका व्यापार तथा सवारीसाधन आयातको वैकल्पिक मार्ग बनेको छ । तर, सडकको कमजोर अवस्थाका कारण यस नाकाबाट भित्रिएका सवारीसाधन र मालवस्तुको ढुवानी व्यवस्थापनमा कठिनाइ देखिएको छ ।


