१२ वैशाख, काठमाडौं ।
एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन बिक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ । विभागले नियमित अनुगमनका क्रममा ती बिक्रेताहरुहरुलाई कारबाही गरेको हो ।
बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख जरिवाना तिराएको हो । महालक्ष्मी इशान इन्टर प्राइजेजले तीन हजार सात सय रुपैयाँमा किनेर दुई हजार रुपैयाँ नाफा राखेर पीपीई सेटा बिक्री गरेको पाइएको छ ।
स्वास्थ्य सामाग्रीको खरिद बिक्री विवरण नदेखाउने त्रिपुरेश्वरकै कान्तिपुर सर्जिकललाई दुई लाख जरीवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ कान्तिपुर सर्जिकलले पछिल्लो तीन महिनाको खरिद बिक्री विवरण सार्वजनिक गर्न नमानेपछि उसलाई अनुचित क्रियाकलाप कसूरमा जरिवाना गराइएको हो ।
एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गर्ने चाबहिलको कालिका ट्रेडर्सलाई तीन लाख रुपैयाँ जरिमान तिराएको छ । कालिका ट्रेडर्सले ४३० रुपैयाँमा किनेर एन–९५ मास्क ६ सय रुपैयाँसम्मा बिक्री गरेको पाइएको थियो ।


