Banijya News

कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

1
1.2K Shares

सरकारले कित्ताकाट खुलाउने प्रयोजनका लागि जग्गाको वर्गीकरण खुला गर्न २०८३ असार मसान्तसम्म समय दिने भएको छ। भू उपयोग नियमावली २०७९ मा तेस्रो संशोधन गर्दै जग्गाको वर्गीकरण गर्ने समय एक वर्ष थप गर्न लागिएको हो।

२०८२ असार मसान्तसम्म अधिकांश स्थानीय तहले कित्तागत विवरण सहितको भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकेका थिएनन्। यो काम नसकिँदा कित्ताकाट रोकिन गई जग्गा प्रशासनको नियमित काम नै अवरुद्ध भएको छ।

सरकारले बारम्बार म्याद थप गरे पनि स्थानीय तहले जग्गा वर्गीकरण गर्न नसक्दा घरजग्गा कारोबार नै रोकिएको छ। संघ सरकारले प्राविधिक सहयोग गरिरहेको दाबी गरे पनि स्थानीय तहले जग्गा वर्गीकरण गर्न इन्जिनियर नभएको बताउँदै आएका छन्।

अहिले लिखत रजिष्ट्रेशन पास, बैंक तथा वित्तीय संस्थाहरूको रोक्का, नामसारी लगायत अन्य निवेदन सम्बन्धी सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरूबाट सिफारिस आएपछि मात्र सेवा प्रवाह भइरहेका छन्।

नियमावली संशोधन गर्दै वर्गीकरणको अवधि २०८३ असार मसान्तसम्म कायम हुनेगरी पेश गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले वर्गीकरण रोकिँदा कित्ताकाट पनि रोकिएकाले समय थप गर्न प्रस्ताव गरिएको जानकारी दिए।

। उनले भू–उपयोग नियमावली मन्त्रिपरिषद्मा प्रस्ताव गरिए पनि स्वीकृत भईनसकेको जानकारी दिए।

1

Scroll to Top