Banijya News

रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन महसुलविरुद्ध आन्दोलन गर्ने

1
1.1K Shares

रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल जबरजस्ती तिराउन खोजिएको भन्दै आन्दोलन घोषणा गरेका छन् ।

रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाइन काटिएपछि उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महसुल तिराउन खोजिएको उनीहरुको आरोप छ । उद्योगीहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत आज बिहीबार धर्नामा बस्ने जनाएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाइन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहीबार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।

बिहीबार बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्थाका प्रतिनिधि, श्रमिक, कर्मचारीको सहभागिता रहने उनले बताए । अन्य कार्यक्रम पछि सार्वजनिक गरिने आचार्यको भनाइ छ । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले उद्योगीलाई अन्याय भएको र विद्युत प्राधिकरणले निःशर्त विद्युत लाइन नजोडेसम्म अन्य बक्यौता पनि नतिर्ने बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको गलत निर्णयका कारण उद्योग बन्द भई श्रमिक मर्कामा परेको उल्लेख गरे । उनले १५ हजार बढी मजदुर बेरोजगार हुने अवस्थामा रहेको भन्दै धर्ना कार्यक्रममा श्रमिक संगठनको पनि उपस्थिति रहने जानकारी दिए ।

उद्योग वाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले डेडिकेटेड फिडर र ट्रंकलाइन माग गरेका उद्योगले महशुल चुक्ता गर्नुपर्ने बताए । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र खड्काले दीर्घकालसम्म उद्योग बन्द कल्पना गर्न नसकिने भएकाले काठमाडौंमै पुगेर भए पनि माग सम्बोधनका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

1

Scroll to Top