नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार सहजीकरण, गैर-भन्सार अवरोध न्यूनीकरण तथा लगानी विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको छ। बंगलादेशको राजधानी ढाकामा मंगलबार र बुधबार सम्पन्न आठौँ वाणिज्य सचिवस्तरीय बैठकमा दुवै देशले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागिता जनाएको थियो भने बंगलादेशी टोलीको नेतृत्व त्यहाँका वाणिज्य सचिव महबुबुर रहमानले गरेका थिए।
बैठकमा सन् २०२४ अप्रिलमा काठमाडौंमा भएको सचिवस्तरीय बैठकपछि भएको प्रगतिबारे समीक्षा गरिएको थियो। सचिव घिमिरेले अन्य कर तथा शुल्कसहितका व्यापार अवरोधहरू घटाएर द्विपक्षीय व्यापार अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाल छिट्टै अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गरेको सन्दर्भमा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हित प्रवर्द्धन गर्न दुवै देशबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। उनले व्यापार शुल्क घटाउने तथा बजार पहुँच विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए।
वाणिज्य मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षले प्राथमिकता प्राप्त व्यापार सम्झौता (पीटीए) को पाठ, उत्पत्तिका नियम (Rules of Origin) र वस्तु सूची सम्बन्धी वार्तालाई छिटो टुंग्याउन व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति गरेका छन्।
त्यसैगरी भन्सार प्रक्रिया समन्वय, सीमापार भुक्तानी प्रणाली सहज बनाउने, तथा गैर–भन्सार अवरोध समाधान गर्दै व्यापार र लगानीमा सहकार्य सुदृढ गर्ने निर्णय गरिएको छ।
बैठकमा नेपालका जलविद्युत् परियोजनामा संयुक्त उपक्रममार्फत लगानी गर्ने विषयमा समेत सहमति भएको छ। साथै, पर्यटन प्रवर्द्धन, यातायात पूर्वाधार सुधार, र कनेक्टिभिटी विस्तार मार्फत आर्थिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा दुवै देश सहमत भएका छन्।
बंगलादेशी वाणिज्य सचिव रहमानले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन संयुक्त रूपमा काम गर्नुपर्ने बताए। उनले यातायात पूर्वाधार स्तरोन्नति, भन्सार प्रक्रिया सरलीकरण र व्यापार सहजताका लागि बंगलादेश प्रतिबद्ध रहेको स्पष्ट पारे।
बैठकबाट भएका सहमतिहरूको माइन्युटमा दुवै देशका वाणिज्य सचिवले हस्ताक्षर गरेका छन्। नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासका अधिकारीहरूको सहभागिता थियो। बंगलादेशी पक्षमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
दुवै देशले अर्को वाणिज्य सचिवस्तरीय बैठक काठमाडौंमा आयोजना गर्ने सहमति गरेका छन्। नेपाल–बंगलादेशबीचको यो वार्ताले व्यापार सहजीकरण, लगानी विस्तार र क्षेत्रीय आर्थिक सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।


