Banijya News

नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा, यसरी गरिनेछ छनोट !

1
1.1K Shares

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी भएका छन् । ३० पुससम्मको म्यादअनुसार बोलपत्र खोल्दा १० कम्पनी प्रतिस्पर्धामा आएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
अहिले बोलपत्रमा सहभागी कम्पनीको प्राविधिक पक्षको मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकनको काम १५ माघभित्र सकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।

फागुन अन्तिमसम्म सम्झौता गरेर छानिएको कम्पनी फिल्डमा पुग्ने उनले सुनाए । ‘सेवा प्रदायक छान्ने काम सकिएपछि सम्बन्धित कम्पनीमार्फत सुरुङ सञ्चालनमा खटिने कर्मचारीलाई तालिम दिईने उनले बताए । सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरिएको थियो ।

यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेको प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकेको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको थियो । त्यहीअनुसार अहिले बोलपत्र खोलिएको हो । प्रतिस्पर्धामा समेटिएका १० वटा विदेशी कम्पनीसँग सबै नेपाली कम्पनी जेभी रहेको आयोजनाले जनाएको छ ।

चीन सरकारको स्वामित्वमा रहेका र कालोसूचीमा परेका कम्पनी छान्न नहुने जापानले अडान लिए पनि अहिले सेवा प्रदायकको प्रतिस्पर्धामा सबैभन्दा बढी कम्पनी चिनियाँ छन् । सडक विभाग स्रोतका अनुसार प्रतिस्पर्धामा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्किस कम्पनी छन् । यस अवधिमा पुरानो निर्माण कम्पनीले सडक विभागलाई सम्पन्न भएको सुरुङ हस्तान्तरण गर्नेछ ।

यसरी गरिने छ छनोट !

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले यसमा नेपाली कम्पनीसँग विदेशी कम्पनीले अनिवार्य रूपमा जोइन्ट भेन्चर गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुने आयोजनाका निर्देशक नेपालको भनाइ छ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।

पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सुरुङ सञ्चालनका लागि १ सय ५० जना जनशक्ति राखिनेछ । सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । यसको अनुगमन सडक बोर्ड नेपालले नै गर्नेछ । सुरुङ निर्माणको काम अन्तिम चरणमा रहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

निर्माणका क्रममा पहिरो व्यवस्थापन, परामर्श सेवालगायतमा रकम अपुग भएर जापान सरकारसँग थप ऋण लिने तयारीमा रहेको आयोजनाले जनाएको छ । ‘केही समय अघिदेखि नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच रकम थप गर्नेबारे छलफल भएको थियो । त्यहीअनुसार करिब साढे ५ अर्ब रुपैयाँ थप गर्न लागिएको र सम्झौता भइनसकेको जैशिले बताए

अर्थ मन्त्रालय र जापान सरकारका अधिकारीले सम्झौतामा हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा आउने आयोजनाको भनाइ छ । माग गरिएको रकम थप भए जापानसँग सुरुङ निर्माणको ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ । अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

आयोजनाले अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाटै सुरुङमार्ग सञ्चालनमा ल्याउने जनाएको थियो । तर सेवा प्रदायक छनोट गर्न नसक्दा सञ्चालनको समय पछि धकेलिएको हो । अहिले धादिङतर्फ टोल प्लाजा निर्माण र पहिरो व्यवस्थापनको काम भइरहेको छ । निर्माण कम्पनीको म्याद पहिरो रोकथामका लागि १२ वैशाख २०८३ सम्म थपिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनको हकमा ३० देखि ३५ मिनेट समय बचत हुने आयोजनाको भनाइ छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् ।

डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ । ४ कात्तिक २०७६ मा यसको निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

1

Scroll to Top