Banijya News

भ्यालेन्टाइनसँगै बजारमा झण्डै ५ करोड रुपैयाँको गुलाबको कारोबार हुने

1
1.1K Shares

भ्यालेन्टाइन वीक सुरु भएसँगै बजारमा ह्वात्तै बढ्यो गुलाबको माग, झण्डै ५ करोड रुपैयाँको कारोबार हुने भ्यालेन्टाइन वीक सुरु भएसँगै देशभर गुलाब फूलको माग उल्लेख्य रूपमा बढेको छ। प्रणय दिवस नजिकिँदै जाँदा फूल पसल, सडकछेउका स्टल र अनलाइन प्लेटफर्महरूमा गुलाबको कारोबार चर्किएको छ। फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसलाई लक्षित गर्दै यस वर्ष करिब चार लाख ६२ हजार स्टिक गुलाफको माग रहने अनुमान छ।

प्रणय दिवस पश्चिमी संस्कृतिबाट आएको भए पनि पछिल्ला वर्षहरूमा नेपालमा पनि यसलाई विशेष महत्वका साथ मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी १४ मा मात्र नभई एक हप्ता अघिदेखि नै भ्यालेन्टाइन वीक मनाउने प्रचलन बढेसँगै गुलाफ फूलको कारोबार उल्लेख्य रूपमा बढेको हो। यस अवसरमा प्रेमी जोडीबीच प्रेमको प्रतीक मानिने रातो गुलाफ आदानप्रदान गर्ने परम्परा रहेको छ। मागअनुसार स्वदेशी उत्पादन पर्याप्त नहुने भएकाले करिब ७० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपर्ने अवस्था छ। भ्यालेन्टाइन सप्ताहभर ४ लाख ५० हजारभन्दा बढी स्टिक गुलाफ खपत हुने अनुमान गरिएको छ। यस वर्ष बजारमा रातो गुलाफको मूल्य प्रतिस्टिक १ सयदेखि १ सय ५० रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा करिब २ लाख ७० हजार स्टिक र उपत्यका बाहिरका जिल्लाहरूमा १ लाख ८० हजार स्टिक गुलाफ खपत हुने अपेक्षा छ। यसरी भ्यालेन्टाइन सप्ताहभर झण्डै ५ करोड ६२ लाख रुपैयाँ बराबरको गुलाफ फूलको कारोबार हुने अनुमान गरिएको छ।

नेपालमा गुलाफ उत्पादन मौसममा निर्भर हुने भएकाले जाडो मौसममा स्थानीय उत्पादन कम हुने व्यवसायीहरू बताउँछन्। बढी माग हुने समय नै जाडो सिजन पर्ने भएकाले स्वदेशी उत्पादनले बजारको आवश्यकता पूरा गर्न नसक्दा आयातमा निर्भर हुनुपर्ने अवस्था दोहोरिने गरेको हो। फ्यानका अनुसार रातो गुलाफ विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। हाल काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा करिब ६ सय ७५ किसिमका फूलको खेती तथा नर्सरी विस्तार भइसकेको छ। नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका गुलाफ उत्पादन हुँदै आएका छन्। फूल व्यवसायीहरूका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा गुलाबको माग करिब १५–२० प्रतिशतले बढेको छ। विशेषगरी युवा पुस्तामा भ्यालेन्टाइन वीक मनाउने चलन बढेसँगै रातो गुलाबको बिक्री उल्लेख्य रूपमा बढेको उनीहरूको भनाइ छ। काठमाडौंका एक फूल व्यवसायीका अनुसार भ्यालेन्टाइन सप्ताहभर दैनिक रूपमा गुलाबको माग बढ्दै गएको छ।

फेब्रुअरी १४ नजिकिँदै जाँदा मूल्य र माग दुवै बढ्ने संकेत देखिएको छ,” उनले भने। माग बढेसँगै गुलाबको मूल्य पनि सामान्य दिनको तुलनामा केही महँगिएको छ। हाल बजारमा रातो गुलाब प्रतिस्टिक १ सयदेखि १ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ भने प्रणय दिवस नजिकिँदै जाँदा मूल्य अझै बढ्न सक्ने व्यवसायीहरू बताउँछन्।

1

Scroll to Top