Banijya News

नेपालको औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशत मात्रै

1
1.2K Shares

मुलुकको औद्योगिक क्षेत्रको धड्कन मानिने क्षमता उपयोग दर निरन्तर खस्कँदै ४४.५ प्रतिशतमा सीमित भएको छ। उत्पादनका लागि जडान गरिएका मेशिन, प्लान्ट र श्रमशक्ति आधाभन्दा बढी समय निष्क्रिय रहँदा औद्योगिक गतिविधि सुस्ताउँदै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ (एकीकृत) प्रतिवेदनअनुसार पछिल्ला चार वर्षयता औद्योगिक क्षमता उपयोग निरन्तर ओरालो लागेको छ । आव २०७८/७९ मा ५२.८५ प्रतिशत रहेको औसत क्षमता उपयोग क्रमशः घट्दै आव २०७९/८० मा ४९.८५ प्रतिशत, २०८०/८१ मा ४८.३५ प्रतिशत हुँदै गत आवमा ४४.५५ प्रतिशतमा झरेको छ।

कोभिड महामारीपछि उद्योग क्षेत्र सामान्य लयमा फर्किने अपेक्षा गरिए पनि तरलता अभाव, उच्च ब्याजदर, कच्चा पदार्थको महँगी र कमजोर आन्तरिक मागका कारण उत्पादनले गति लिन सकेको छैन। क्षमता उपयोग घट्नुले नगद प्रवाह, रोजगारी, लगानी र दीर्घकालीन औद्योगिक स्थायित्वमा प्रत्यक्ष असर पार्छ। लामो समयसम्म न्यून क्षमता उपयोग कायम रहँदा उद्योगहरू मर्मत, स्तरोन्नति र प्रविधि विस्तारमा लगानी गर्न हिच्किचाउने अवस्था सिर्जना हुन्छ, जसले समग्र औद्योगिक आधारलाई कमजोर बनाउने जोखिम बढाउँछ।

औद्योगिक क्षेत्रमा चौतर्फी सुधारभन्दा पनि केही सीमित क्षेत्र वा उद्योगहरूको अवस्था राम्रो भएको पाइन्छ । केही उद्योगहरूले निरन्तररूपमा आफ्नो जडितक्षमताको अधिकतम उपयोग गरिरहेका छन् भने कतिपय उद्योगहरू करीब ठप्प जस्तै छन् । चार वर्षको औसत क्षमता उपयोग हेर्दा फलाम, विद्युत् र आल्मुनियमका उत्पादनहरू अग्रस्थानमा छन्, जसको क्षमता उपयोग जडित क्षमताको करीब तीन चौथाइ वा त्योभन्दा बढी छ । त्यसपछि राम्रो क्षमता उपयोग गर्नेहरूमा चाउचाउ, इँटा, धागो, टायर र ट्युब, कंक्रिट, प्रशोधित चिया र पश्मिना उद्योगहरू पर्छन् । यी उद्योगहरूको क्षमता उपयोगिता ७५ प्रतिशत हाराहारीमा छ ।

सबैभन्दा कम क्षमता उपयोग भएका उद्योगहरूको समूह पनि उत्तिकै अर्थपूर्ण छ । वनस्पति घिउ औसतमा करीब ४ प्रतिशतमा खुम्चिएको छ भने ड्राइ सिरप र क्याप्सुलजस्ता औषधिजन्य उत्पादनहरू १५ देखि २० प्रतिशतको हाराहारीमा सञ्चालनमा छन् ।

निर्यातजन्य वस्तुमै पर्ने पश्मिनाको क्षमता उपयोगमा पनि उतारचढाव देखिएको छ । आव २०८०/८१ मा ९७ दशमलव ८५ प्रतिशत क्षमतामा सञ्चालित पश्मिना उद्योगको क्षमता उपयोग आव २०८१/८२ मा झरेर ४९ दशमलव ५१ प्रतिशतमा खुम्चियो । नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष चिरञ्जीवी काफ्लेका अनुसार विलासी वस्तु अर्थात् लक्जरियस प्रडक्टका रूपमा रहेको पश्मिनाको माग खरीदकर्ताको क्रयशक्तिमा भर पर्ने भएकाले संवेदनशील छन् । काफ्लेका अनुसार अन्तरराष्ट्रिय बजारमा मागमा कमी आउँदा नेपालबाट हुने निर्यातका अर्डरहरू प्रभावित हुने र यसको प्रत्यक्ष असर पश्मिना उद्योगको क्षमता उपयोगमा पर्ने गर्छ । सामान्यतया उद्योगहरूमा औद्योगिक ऋण प्रवाहमा आएको वृद्धिले उद्योग सञ्चालनमा सुधार हुनुपर्ने हो । तर, नेपालमा तथ्यांकले यो अन्तरसम्बन्धमा आश्चर्यजनक विच्छेद (डिस्कनेक्ट) देखाएको छ । बैंकहरूबाट औद्योगिक ऋणको प्रवाह बढ्दै छ, जब कि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग घट्दै छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार आव २०८१/८२ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले १ हजार ६९९ दशमलव ५ अर्ब रुपैयाँ औद्योगिक कर्जाका रूपमा उद्योगहरूलाई प्रवाह गरेका थिए, जुन आव २०८०/८१ मा १ हजार ५१८ दशमलव १ अर्ब रुपैयाँ अनि आव २०७९/८० मा १ हजार ३८७ दशमलव ४४ अर्ब रुपैयाँ थियो । बढ्दो ऋण प्रवाहले उद्योगहरूको क्षमता उपयोग तथा समग्र उत्पादनमा सुधार आउनुपर्ने हो । तर, त्यसो भएको देखिएको छैन । यसले कमजोर माग र संरचनात्मक अवरोधहरू कायमै रहँदा औद्योगिक गतिविधिलाई तीव्रता दिन वित्तीय पहुँचमात्र अपर्याप्त रहेको देखाउँछ ।

औद्योगिक ऋण पनि मूलतः एउटै प्रदेश अर्थात् बागमती प्रदेशमा धेरै गएको देखिन्छ । गत आवमै कुल औद्योगिक ऋणको ७१ दशमलव ३ प्रतिशत बागमती प्रदेशमा गएको थियो । त्यसपछि कोशीमा ९ दशमलव ५, लुम्बिनीमा ८ दशमलव ३ र मधेशमा ७ दशमलव ५ प्रतिशत औद्योगिक ऋण प्रवाह भएको छ । बागमती प्रदेशमा धेरै ऋण प्रवाह हुनुमा धेरै उद्योगको प्रधान कार्यालय काठमाडौँमा रहनु प्रमुख कारण हो । केन्द्रीय बैंकको प्रतिवेदनले क्षमता उपयोगमा कमी आउनुमा उद्योगहरू स्थापना र सञ्चालनमा प्रक्रियागत जटिलता औंल्याएको छ, जसले लागत बढाउँछ र लगानी निर्णयहरूमा ढिलाइ गराउँछ । सडक पुनर्निर्माणमा ढिलाइले कच्चा पदार्थको आपूर्ति र तयारी सामानको आवागमनमा बाधा पुर्याउने, ढुवानी लागत बढाउने र समयमै निर्यात गन्तव्यमा सामान नपुग्नेजस्ता समस्या बढाउँछ ।

मुलुकका उद्योगहरूको राष्ट्रिय औसत उत्पादन क्षमता ४५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । यो तथ्यांकीय गिरावटमात्र नभई उद्योगहरू ठूलो मात्रामा प्रयोगविहीन भएको र औद्योगिक गति गुमेको संकेत हो, जसलाई पुनर्जीवित गर्न वर्षौं लाग्न सक्छ । र, यदि यो अवस्था कायमै रह्यो भने नेपाल स्थायी रूपमै न्यून उत्पादनको चक्र अर्थात् लो प्रोडक्सन इक्विलिब्रियममा फस्ने देखिन्छ ।

1

Scroll to Top