चालु आर्थीक वर्ष (आव) को ७ महिनामा लक्ष्यको २४ प्रतिशत मात्रै वैदेशिक अनुदान प्राप्त भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघसम्ममा वैदेशिक अनुदान १२ अर्ब ८३ करोड प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको तुलनामा २४ प्रतिशत हो । गत आवको माघसम्म वार्षिक लक्ष्यको १६.८५ प्रतिशतमात्र अनुदान आएको थियो । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब बजेट ल्याएको छ । यसमा ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदानबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । यसमध्ये माघसम्म लक्ष्यको २४ प्रतिशत प्राप्त भएको हो । चालु आवको अनुदान प्राप्ति प्रतिशतका आधारमा हेर्दा गत वर्षको भन्दा धेरै मात्र होइन, पछिल्ला ६ वर्षमै बढी हो ।
आव २०७८–७९ को माघसम्ममा वार्षिक लक्ष्यको २३.१६ प्रतिशत अनुदान आएको थियो । त्यस्तै, गत वर्ष १६.८५ प्रतिशत आएको थियो । अन्य चार वर्षमा भने लक्ष्यको १० प्रतिशतभन्दा कम आएको थियो । महालेखाका अनुसार आव २०८०–८१ मा ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिइएकामा माघसम्म २ अर्ब ७५ करोड प्राप्त गरेको थियो । यो वर्ष लक्ष्यको ५.५० प्रतिशत हो ।
यस्तै, आव २०७९–८० को बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको थियो । यसमध्ये माघसम्ममा ४ अर्ब ८० करोड रुपैयाँ अर्थात् लक्ष्यको ८.६५ प्रतिशत प्राप्त गरेको थियो । सरकारले आव २०७८–७९ को माघसम्ममा १३ अर्ब ८८ करोड अनुदान ल्याएको थियो । यो वार्षिक लक्ष्यको २३.१६ प्रतिशत थियो । त्यो वर्षको बजेटमा ५९ अर्ब ९१ करोड अनुदानको लक्ष्य राखिएको थियो ।
महालेखाका अनुसार आव २०७७–७८ को माघसम्ममा लक्ष्यको ८.७५ प्रतिशत अनुदान आएको थियो । त्यो वर्ष सरकारले ६० अर्ब ५२ करोड अनुदान ल्याउने लक्ष्य राखेकामा ५ अर्ब ३ करोड रुपैयाँ आएको थियो । यो वर्ष वैदेशिक अनुदान प्राप्तिमा केही सुधार देखिएको छ । वैदेशिक अनुदान लिँदा गरेको सम्झौताअनुसार परियोजनाको काम समयमा हुँदा अनुदान प्राप्ति बढ्ने गर्छ । यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले विगतका वर्षहरुका तुलनामा केही बढी अनुदान प्राप्त भएको छ । तर, सरकारले लिएको लक्ष्यअनुसार भने यो कम हो । अनुदान धेरै नआउनुका धेरै कारण छन् । विगतमा गरिब तथा विपन्न मुलुकहरुलाई धनी मुलुकले अनुदान धेरै दिने प्रचलन थियो । विकसित मुलुकहरुले आफ्नो अर्थतन्त्रको केही प्रतिशत रकम गरिब र विपन्न मुलुकहरुलाई अनुदानस्वरुप दिनुपर्छ भन्ने मान्यता थियो । पछिल्ला वर्षहरुमा यो मान्यता खस्कँदै आएको छ र सबै मुलुकहरुले अनुदानको हिस्सा घटाउँदै लगेका छन् ।
अर्कोतर्फ कुनै पनि मुलुकलाई बिनास्वार्थ अनुदान नदिने परम्परा बसेको छ । अनुदान पाउने मुलुकले दिने मुलुकका विभिन्न सर्त मान्नुपर्छ । यस्तै, अनुदानका स्थानमा सस्तो ब्याजदरमै भए पनि ऋण दिने परम्परा बनिरहेकोे छ । नेपालको सन्दर्भमा वैदेशिक अनुदानमा कमी आउनुको अर्को कारण अर्थतन्त्र क्रमशः मजबुत हुँदै जानु पनि हो । अर्थतन्त्रको आकार प्रत्येक वर्ष बढ्दै गएको र राजस्व असुली पनि मजबुत हुँदै आएको भन्दै विदेशी मुलुक र निकायहरुले अनुदान दिन क्रमशः कम गरेका छन् ।


