कात्तिक २८ २०७६, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६५ करोड ९७ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा १३ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५८ करोड १९ लाख २९ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब ६८ करोड ६८ लाख ५२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ७८ अर्ब ५९ करोड ४९ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १३ करोड ७२ लाख १९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब छ करोड पाँच लाख पाँच हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने २२ करोड ८८ लाख ४४ हजार रूपैयाँ रहेको छ । सो अवधिमा बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।


