पुस १५, २०७६, काठमाण्डौ ।
एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घघाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ ।
बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।


