Banijya News

अमेरिकाले लगाउने भन्सार शुल्कले बंगलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने

1
1.1K Shares

एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।

मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ।

बृद्धिदर घट्नुको मुख्य कारण भनेको निर्यात र उद्योग क्षेत्रको मन्दी तथा अमेरिकी भन्सार शुल्कको सम्भावित प्रभाव रहेको बताइएको छ । यसअघि, चालु वर्षको वैशाखमा एडिबीले बङ्गलादेशको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान गरेको थियो । तर, अहिले अमेरिकी सरकारले साउन १७ गतेदेखि बङ्गलादेशबाट आउने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ।

व्यापार विश्लेषकहरूका अनुसार, यो निर्णयपछि बङ्गलादेश अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धी मुलुकहरूभन्दा कमजोर अवस्थामा पर्नेछ । विशेष गरी सिलाइबुनाइ गरिएका कपडाका सामग्रीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ।

यी तयार कपडाहरू बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्षेत्र हो, जसमा ४० लाखभन्दा बढी नागरिक रोजगारीमा रहेका छन् । यदि यो शुल्क लागू भयो भने, बंगलादेशको रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने एडिबीले चेतावनी दिएको छ ।

1

Scroll to Top