प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो । माघ २० गतेदेखि लागू हुने गरी शर्मालाई ४ वर्षका लागि सिइओको जिम्मेवारी दिइएको छ । यसअघिका सिइओ अशोक शेरचनले पदबाट राजिनामा दिएसँगै शर्मालाई सिइओ नियुक्त गरिएको हो ।
नवनियुक्त सिइओ शर्मा यसअघि सनराइज बैंकमा सिइओ रहेका थिए । त्यस्तै, उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सिइओ भएर काम गरिसकेका छन् ।
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् । यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो ।
तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रहरीले बयान नसकिएको बहानामा पटकपटक म्याद थप गर्न पेस गरेपछि उच्च अदालत, पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न भन्दै उनलाई अन्तिम पटकका लागि म्याद थप गरेको थियो । उच्च अदालतको आदेशबमोजिम त्यो म्याद पनि सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जहानीमा रिहा गरेको थियो ।
सीआईबीले उनीमाथिको अनुसन्धान प्रतिवेदन अहिलेसम्म पनि सरकारी वकिल कार्यालयमा बुझाउन सकेको छैन।


