देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भई उपचाररत घाइतेहरूलाई आवश्यक रगत उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मिति २०८३ साल भदौ ३० गते एकै समयमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले केन्द्रीय कार्यालयसहित देशभरका आठ शाखा कार्यालयमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। बाग्मती प्रदेशअन्तर्गत केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं तथा नारायणगढ शाखा, चितवनमा कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको सिमरा शाखा, गण्डकी प्रदेशको अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा पनि एकसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, स्थानीय समुदायका प्रतिनिधि तथा अन्य स्वयंसेवी सहभागी भएका थिए। सातै प्रदेशमा सम्पन्न रक्तदान कार्यक्रमबाट कुल ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। प्राकृतिक विपद्का कारण घाइते भई विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरूका लागि रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ।
प्रभु बैंकले यसअघि पनि बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्रिय सहयोग गर्दै आएको छ। हालैको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारहरूको सहयोगार्थ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ रकम प्रदान गरेको थियो। साथै बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको थियो।
यसका अतिरिक्त बाढी प्रभावित परिवारहरूको अस्थायी बसोबास व्यवस्थापन तथा राहत सहयोगका लागि बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको थियो। उक्त सामग्रीहरू प्रभावित परिवारसम्म पु¥याई उनीहरूको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनु भएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंकले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोज तथा उद्धार होस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै बैंकले संकटको यस घडीमा सबैसँग ऐक्यबद्धता प्रकट गरेको छ।
प्रभु बैंकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा आत्मसात् गर्दै बैंकले मानवीय सेवा र सामाजिक सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।

