अहिलेसम्म विभिन्न सामाजिक सञ्जालहरु निःशुल्करुपमा प्रयोग गरिँदै आएको छ । अब फेसबुक, इन्स्टाजस्ता सामाजिक सञ्जालहरुको प्रयोग गर्न पैसा तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, मेटा कम्पनीले फेसबुक, इन्स्टा आदिमा केही प्रिमियम फिचर ल्याउँदैछ, जसलाई निःशुल्क रुपमा प्रयोग गर्न नपाइने भएको छ ।
मेटा कम्पनीले आफ्नो आम्दानीको स्रोत बढाउन र विज्ञापनमा मात्र निर्भर रहने अवस्थालाई अन्त्य गर्न नयाँ सशुल्क सब्सक्रिप्शन योजनाहरू ल्याउने तयारी गरेको हो । यी नयाँ योजनाहरु प्रयोग गर्न अब प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्ने छ । यद्यपि, मेटाले नेपाल लगायतका दक्षिण एसियाली देशहरूका लागि आधिकारिक मूल्यको घोषणा गर्न अझै बाँकी छ ।
यस योजना अन्तर्गत इन्स्टाग्राम प्लस र फेसबुक प्लसको मासिक शुल्क ३.९९ डलर तोकिएको छ भने ह्वाट्सएप प्लसका लागि प्रयोगकर्ताले मासिक २.९९ डलर बुझाउनुपर्ने हुन्छ ।
टेक क्रन्चको रिपोर्ट अनुसार ह्वाट्सएप प्लसमा प्रयोगकर्ताले व्यक्तिगत मेसेजिङ अनुभवका लागि कस्टम थिम, विशेष रिंगटोन, प्रिमियम स्टिकर्स र धेरै च्याटहरू पिन गर्ने जस्ता सुविधाहरू पाउनेछन् ।
त्यसैगरी, इन्स्टाग्राम प्लसका ग्राहकहरूले आफ्नो स्टोरी कति पटक फेरि हेरियो भन्ने जानकारी पाउनुका साथै भ्युअर्स लिस्टमा नदेखिई अरूको स्टोरी प्रिभ्यु हेर्न सक्नेछन् ।
इन्स्टाग्राम प्लसमा प्रयोगकर्ताले स्टोरीलाई २४ घण्टाभन्दा बढी समयसम्म राख्न मिल्ने, हप्तामा एउटा स्टोरीलाई ‘स्पटलाइट’ गरी धेरै मानिससम्म पुर्याउन मिल्ने र स्टोरी भ्युअर्स लिस्टमा नाम खोज्न मिल्ने जस्ता विशेष सुविधाहरू पनि उपलब्ध हुनेछन् । यसका साथै एनिमेटेड सुपर हार्ट रियाक्सन, कस्टम एप आइकन र बायोका लागि विशेष फन्ट जस्ता सजावटका सुविधाहरू पनि यी प्लानमा समावेश गरिएको छ ।
मेटाका यी नयाँ योजनाहरू हाल सञ्चालनमा रहेको ‘मेटा भेरिफाइड’ सेवाभन्दा पूर्णतः फरक छन्, जसले केवल पहिचान प्रमाणीकरण र ग्राहक सहयोगमा ध्यान दिन्छ ।
मेटाको यो योजना सामाजिक सञ्जालमा मात्र सीमित नभई एआई, क्रिएटर र बिजनेस केन्द्रित पनि रहेको छ । कम्पनीले ‘मेटा वन’ नाममा एआईका लागि दुईवटा सब्सक्रिप्शन टियरहरू पेश गरेको छ, जसमा तस्बिर र भिडियो बनाउनेहरूका लागि ७.९९ डलरको ‘मेटा वन प्लस’ र उच्च प्रयोग सीमा भएको १९.९९ डलरको ‘मेटा वन प्रिमियम’ प्लान रहेका छन् । मेटा एआईको निःशुल्क प्रयोग जारी रहने भए तापनि धेरै सामग्री उत्पादन गर्ने प्रयोगकर्ताहरू पछि सशुल्क योजना लिन बाध्य हुने देखिन्छ ।
यसैगरी, क्रिएटर र व्यवसायीहरूका लागि पनि मेटाले ‘मेटा वन एसेन्सियल’ र ‘मेटा वन एडभान्स्ड’ योजनाहरू ल्याएको छ । १४.९९ डलर पर्ने एसेन्सियल प्लानमा प्रमाणीकरण र राम्रो लिंक फिचर्स पाइनेछ भने एडभान्स्ड प्लानमार्फत व्यवसायी र इन्फ्लुएन्सरहरूले आफ्नो पहुँच बढाउन फेसबुक फिड र सर्च रिजल्टमा प्राथमिकता पाउनेछन् । समग्रमा, मेटाले आफ्ना सबै प्लेटफर्मलाई बिस्तारै सशुल्क मोडेलतर्फ लैजाने रणनीति अपनाएको प्रष्ट देखिन्छ ।


