गोदावरीमा सवा एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा गोदावरी फरेस्ट होटल निर्माण भइरहेको छ। गोदावरी फरेस्ट होटल प्रालिले एक अर्ब २७ करोड ७० लाख रुपैयाँ लगानीमा यो होटल बनाउँदैछ।
सन् २०१६ मा दर्ता भएको यो होटलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। कम्पनीले ५२ हजार २२ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण गरिरहेको छ, जसमा ८३ वटा कोठाको सुविधा हुनेछ। यी कोठाहरूमा ३ वटा डिलक्स सुइट रुम, १९ सुइट रुम, १३ वटा डिलक्स (ट्वीन), १० वटा डिलक्स (किङ) रुम र ३८ वटा डिलक्स रुम समावेश छन्।
अतिथिहरूको सुविधाका लागि होटलमा रेष्टुरेन्ट, जिम एन्ड हेल्थ क्लब, स्वीमिङ पुल, स्पा लगायतका सुविधाहरू उपलब्ध हुनेछन्। साथै, विवाह तथा अन्य कार्यक्रमहरूका लागि ब्याङ्क्वेट सुविधा पनि रहनेछ।
होटल निर्माणका लागि कम्पनीले ८७ करोड रुपैयाँको कर्जा रेटिङ गराएको छ। यसमा ८२ करोड रुपैयाँ दीर्घकालीन कर्जा र ५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि हो। कम्पनीले लगानीको लागि ७०:३० को अनुपात कायम गरेको छ, जसमा लगानीकर्ताले हालसम्म ३२ करोड ५० लाख रुपैयाँ जुटाइसकेका छन् भने कर्जासम्बन्धी सबै प्रक्रिया पूरा भइसकेको छ।
कम्पनीका अनुसार, होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आगामी अक्टोबर (असोज अन्तिम) देखि व्यावसायिक कारोबार सुरु गर्ने अपेक्षा गरिएको छ। ६ जनाको स्वामित्व रहेको यस कम्पनीका अध्यक्ष कुशेन्द्रबहादुर राउत हुन्।
होटलको व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनी ट्राभलिटी कर्पोरेशनको बेस्ट वेस्टर्न होटल एन्ड रिसोर्टले लिएको छ। बेस्ट वेस्टर्नले संसारका १०० भन्दा बढी देशमा विभिन्न होटलहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। यसले गोदावरी फरेस्ट होटलको सेवाको गुणस्तर उच्च रहने अपेक्षा गर्न सकिन्छ।


