सर्वसाधारणमा शेयर निष्कासन(आईपीओ) गरेर थप चुक्तापुँजी जुटाउने तयारीमा रहेको बाराको पाँचतारे होटल इच्छाले ‘डब्बल बी’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले प्रस्तावित आइपीओ प्रयोजनका लागि यस्तो रेटिङ प्रदान गरेको हो। एजेन्सीका अनुसार नेपालमा यस्तो रेटिङ प्राप्त संगठित संस्थाले पूर्वनिर्धारित समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यमस्तरीय जोखिम निहीत हुन्छ।
इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा होटलले कुल १७ करोड १० लाख रुपैयाँबराबरको कारोबार गरेको थियो। आर्थिक वर्ष २०८१।८२ को पहिलो ९ महिना(चैत मसान्त)सम्ममा यसको कारोबार १० करोड ८ लाख रुपैयाँ रहेको थियो।
होटल इच्छा मधेश प्रदेशको पहिलो र एकमात्र पाँचतारे होटल हो। सञ्चालनमा आएदेखि नै नाफा कमाउन संघर्षरत यो होटल अझैसम्म अपेक्षित कारोबार गर्न सकेको छैन।
यसको मुख्य आम्दानीको स्रोत क्यासिनो सञ्चालकबाट प्राप्त हुने भाडा र कोठाको बिक्रीबाट प्राप्त हुने आय रहेको छ। सरकारको नीतिगत परिवर्तन क्यासिनो बन्द भएर भाडाबापतको आम्दानी गुम्यो भने कुनै पनि बेला होटल पुनः आर्थिक संकटमा पर्न सक्छ। सिमराका स्थानीयसँगको विवादका कारण क्यासिनो बन्द हुँदा होटलको समग्र आम्दानीमै नकारात्मक प्रभाव पारेको थियो।
यो होटलको पूर्वाधार ठूलो क्षेत्रमा फैलिए पनि सुविधा सम्पन्न र फराकिलो ब्यांक्वेट हलको अभाव छ। यसैकारणले संस्थागत सभा–समारोहका लागि प्राथमिकतामा पर्न सकेको छैन।
यो होटलले पूर्वाधार थप्नका लागि हालैमात्र होटलसँगै रहेका यसको सञ्चालकको स्वामित्वको जग्गा २० करोड ३० लाख रुपैयाँमा खरिद गरेको छ। इक्रा नेपालका अनुसार सुरुआतमा २० करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको यो होटलमा गत जेठ मसान्त देखि १ अर्ब २० करोड रुपैयाँ शेयरपुँजी लगानी भइसकेको छ। गत चैत मसान्तसम्ममा ८८ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी रहेकोमा शेयरधनीहरुले थप ३१ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्। थपिएको पुँजी जग्गा अधिग्रहण र कोठाको सजावटका लागि खर्च गरिन लागेको इक्रा नेपालले उल्लेख गरेको छ।


