Banijya News

वाइवाइ चाउचाउको बजार हिस्सा ६० प्रतिशत

1
1.3K Shares

नेपाली बजारमा ४५ वर्षदेखि आफ्नो अग्रता कायम राख्दै आएको वाइवाइ चाउचाउले ग्राहक उपस्थिति बढाएको छ । उत्पादक कम्पनी सीजी फुड्सका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वाइवाइले १५ प्रतिशत वृद्धिदर हासिल गरेको हो । यससँगै नेपालको चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा वाइवाइले ओगटेको छ । विशेषगरी २० रुपैयाँ मूल्य श्रेणीमा यसको हिस्सा झण्डै ७० प्रतिशत पुगेको कम्पनीको दाबी छ ।

विश्वभर वार्षिक रूपमा करिब चार अर्ब प्याकेट वाइवाइ चाउचाउ उत्पादन हुने गरेकोमा नेपालमै मात्रै कम्पनीले करिब एक अर्ब प्याकेट उत्पादन गरिरहेको छ । सीईओ प्रदीप पुडासैनीका अनुसार वाइवाइले बजारको विविधतासँगै नयाँ स्वाद र श्रेणीका उत्पादनहरू निरन्तर ल्याउँदै आएको छ । हालै बजारमा ल्याइएका ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ले विशेषगरी युवाको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

“ग्राहकको भरोसा, हाम्रो इतिहास र गुणस्तरप्रतिको निष्ठाले नै वाइवाइलाई हरेक सेग्मेन्टमा अग्रणी बनाएको हो,” पुडासैनीले भने, “अब स्पाइसी सेग्मेन्टमा पनि हामी नै अग्रणी हुने लक्ष्य लिएका छौँ ।” ४५ वर्षअघि उत्पादन सुरु भएको वाइवाइ अहिले नेपालसँगै भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान, अफ्रिकालगायत देशमा उत्पादन हुँदै आएको छ । ४० भन्दा बढी देशमा उपलब्ध छ ।

यसले वाइवाइलाई नेपालको पहिलो र एक मात्र विश्वव्यापी ब्रान्डको रूपमा स्थापित गरेको छ । विशेषगरी प्रवासी नेपालीबीच वाइवाइको लोकप्रियता अत्यधिक छ । ‘घरतिरको स्वाद’ भनेर चिनिने वाइवाइ नेपाली उपभोक्तामाझ मात्र नभई विदेशी बजारमा पनि नेपाली स्वादको प्रतिनिधि बनेको कम्पनीको भनाइ छ ।

“देशबाहिर रहेका लाखौँ नेपालीका लागि वाइवाइ केवल खानेकुरा होइन, त्यो घरको स्वाद हो,” पुडासैनीले भने, “बिदाको दिनको पिकनिक होस् वा होस्टलको मध्यरातको भोक, लामो यात्रा होस् वा स्कुल जाँदाको क्षण, वाइवाइ सधैँ नेपालीको साथी बनेको छ ।”

हाल विश्व चाउचाउ बजारको करिब चार प्रतिशत हिस्सा ओगटेको वाइवाइले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ । थप सम्भावना भएका देशहरूमा उद्योग विस्तार गर्न र ग्लोबल मार्केटमा वार्षिक पाँच अर्ब प्याकेट उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

1

Scroll to Top