Banijya News

मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

1
1.2K Shares

नेपाल टेलिकमले मोबाइल डेटा तर्फ एक वर्षमा ७६ लाख ग्राहक गुमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असारको तथ्यांकअनुसार टेलिकमले एकै वर्ष डेटा तर्फ ७६ लाख ६९ हजार गुमाएको हो । तथ्यांकअनुसार टेलिकमले १६ प्रतिशतले मोबाइल डेटाको बजार हिस्सा गुमाएको देखिन्छ ।

प्राधिकरणको असारको तथ्यांकअनुसार टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवा ७१.८५ प्रतिशतबाट ५५.६८ प्रतिशतमा खुम्चिएको छ । ग्राहकलाई सिमकार्ड वितरण गर्नेमा टेलिकम अगाडि भएपनि पछिल्लो समय यसले आफ्नो बजार हिस्सालाई गुमाउँदै गएको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार गत वर्ष २ करोड २४ लाख सिमकार्ड प्रयोगकर्ताले मोबाइल ब्रोडव्याण्ड सेवा लिएको देखिएपनि यो गत वर्ष यस्तो प्रयोगकर्ता १ करोड ४७ लाख छन् । यो तथ्यांक अनुसार टेलिकमको माेबाइल ब्राेडब्याण्ड अर्थात् डेटा प्रयाेगकर्ता पछिल्लो एक वर्षमै ७६ लाख ६९ हजार ६२२ ले घटेको देखिन्छ ।

प्राधिकरणकै सोही तथ्यांक अनुसार एनसेलको ब्रोडव्याण्ड प्रयोगकर्ता भने अघिल्लो वर्ष २०८१ को असारसम्ममा ८७ लाख मात्रै थिए भने २०८२ को असारमा १ करोड १७ लाख पुगेका छन् । यो तथ्यांकले एनसेलको मोबाइल ब्रोडब्याण्डका ग्राहक संख्या पछिल्लो एक वर्षमा २९ लाख ५८ हजार ५४८ ले बढेको देखिएको छ ।

नेपाल टेलिकम र एनसेलको २०८२ असार मसान्त र २०८१ को सोही अवधिको माेबाइल डेटा प्रयोगकर्ताको बजार हिस्सा ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सम्बन्धित सेवाप्रदायकले उपलब्ध गराएको तथ्यांकलाई प्राधिकरणले कम्पाइल मात्रै गरेर सार्वजनिक गर्ने गरेको छ । सेवाप्रदायकले जे जस्तो तथ्यांक उपलब्ध गराएका छन् त्यसैलाई मासिकरुपमा सार्वजनिक गर्ने गरिएकोले के कारणले प्रयोगकर्ता घटे वा बढे भन्ने विषयको विश्लेषण प्राधिकरणले नगर्ने अर्यालले बताए ।

1

Scroll to Top