Banijya News

आधा दर्जन उत्पादन बजारबाट फिर्ता गर्न आदेश, कुन कुन परे कारबाहीमा ?

1
1.0K Shares

पछिल्लो समयमा एकपछि अर्को खाद्यवस्तु गुणस्तरहीन भएको खबर सार्वजनिक हुन थालेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वैशाख महिनाको अन्त्यदेखि जेठको पहिलो हप्तासम्म गरेको अनुगमन र प्रयोगशाला परीक्षणका क्रममा ठुला बहुराष्ट्रियसहित र स्थापित स्वदेशी कम्पनीका उत्पादनहरू खान अयोग्य भेटिएका हुन् ।

विभागले वैशाख ३१ गते पहिलो पटक सूचना जारी गर्दै रुपन्देहीस्थित यशोदा फुड्सले उत्पादन गर्दै आएको लोकप्रिय ‘करेन्ट’ चाउचाउ (ब्याच नं. ०४ए) र ‘लाली’ चाउचाउ (ब्याच नं. ०२ए) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश दियो । ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन जारी गर्यो । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फिर्ता (रिकल) गर्न आदेश जारी गरेको हो ।

सोही दिन एसियन बिस्कुट एण्ड कन्फेक्सनरीबाट उत्पादित ‘ज्याक न्याक क्याकर्स’ बिस्कुटको ब्याच नं. ६ लाई पनि न्यून स्तरको ठहर गर्दै बिक्रीमा रोक लगाइयो ।

यसैगरी, विभागले यही जेठ १ गते पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम (ब्याच नं. सीओ२) गुणस्तरहीन रहेको भन्दै उक्त उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त आइसक्रिम खान अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशनसमेत दिएको छ । बजार अनुगमनका क्रममा सो आइसक्रिममा मानव स्वास्थ्यका लागि घातक जीवाणु भेटिएको जनाउँदै उक्त उत्पादनमा रोक लगाइएको छ ।

नोभा आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरू मापदण्डभन्दा बढी भेटिएको विभागले जनाएको छ । विभागले उक्त डेरीबाट उत्पादित ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न र बिक्री वितरणमा रोक लगाउनसमेत निर्देशन दिएको छ ।

त्यसको लगत्तै जेठ ५ गते बहुराष्ट्रिय कम्पनी डाबर नेपाल बाराको ‘डाबर हनी’ (ब्याच नं. एनबी००४७७) पनि प्रयोगशाला परीक्षणमा न्यून स्तरको पाइएपछि विभागले त्यसलाई बजारबाट फिर्ता (रिकल) गर्न र बिक्री वितरण नगर्न कडा निर्देशन जारी गरेको छ ।

विभागका अनुसार परीक्षणका क्रममा डाबर हनी तोकिएको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न र बिक्री–वितरण रोक्न आदेश दिइएको छ ।

हालै सार्वजनिक भएका यी विवरणले नेपाली खाद्य बजारको भयावह अवस्थालाई उजागर गरेको छ । विशेष गरी वैशाख ३१ गते अयोग्य ठहरिएका करेन्ट र लाली चाउचाउमा प्रयोग गरिएको तेलमा ‘एक्सट्रयाक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुरूप नपाइएको विभागले जनाएको छ । एसिड भ्यालु बढ्नुको अर्थ उत्पादनमा प्रयोग गरिएको तेल गुणस्तरहीन हुनु वा धेरै पटक प्रयोग गरिएर सड्नु हो ।

उता, बहुराष्ट्रिय कम्पनी डाबर नेपाल जस्तो स्थापित ब्राण्डको मह (हनी) समेत न्यून स्तरको पाइनुले उपभोक्तामा थप अन्योल र त्रास पैदा गरेको छ ।

छोटो अवधिमा देखिएको यो प्रवृत्तिले मुलुकको खाद्य सुरक्षा प्रणालीमा कति खेलबाड भइरहेको छ भन्ने पुष्टि गर्छ । ठुला र बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो ‘ब्राण्ड’ को नाममा उपभोक्ताको विश्वासमाथि खेलबाड गरिरहेका छन् । उनीहरु स्वास्थ्य र गुणस्तरभन्दा नाफामुखी त बन्दै गएका छैनन् भन्ने सवाल उब्जाएको छ ।

अर्कोतर्फ, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लागू भएपछि विभागले केही सक्रियता देखाउनु सकारात्मक पक्ष भए पनि बजारमा अझै कति यस्ता ‘अखाद्य’ वस्तुहरू छ्यापछ्याप्ती छन् भन्ने कुराले नागरिकलाई त्रसित बनाएको छ ।

विभागले यी उत्पादनलाई बजारबाट फिर्ता गर्न त भनेको छ । तर दुर्गम भेगका साना पसलहरूसम्म पुगिसकेका यस्ता अखाद्य वस्तु कसरी नियन्त्रण गर्ने भन्ने ठुलो चुनौती छ । सरकारको ध्यान यसतर्फ जान जरुरी छ ।

1

Scroll to Top