Banijya News

फिफा विश्वकप २०२६ लक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

1
1.0K Shares

विश्व खेलकुदको महाकुम्भ मानिने ‘फिफा विश्वकप २०२६’ लाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज’ र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ ।

टेलिकमले विशेषगरी आफ्ना आईपिटिभी ग्राहकहरूलाई विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्ने सुविधा प्रदान गर्न यो प्याकेज ल्याएको हो । यस व्यवस्थाअनुसार सम्पूर्ण आईपिटिभी ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका सबै खेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् ।

यो सेवा सुचारु गर्नका लागि एनटीटिभीका ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत ‘हिमालय स्पोट्र्स’ च्यानल छनोट गर्नुपर्नेछ । च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन देखा पर्नेछ, जहाँ नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि एउटा ओटिपी कोड प्राप्त हुनेछ । उक्त ओटिपी कोडलाई पुनः टिभी स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्तै सक्रिय हुनेछ । साथै, ग्राहकहरूले आफ्नो नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्ने सुविधा छ ।

टेलिकमले नयाँ तथा पुराना ग्राहकहरूलाई आकर्षित गर्न आगामी जेठ २६ गतेदेखि साउन ३ गतेसम्मका लागि एक विशेष बोनस योजना समेत ल्याएको छ । यस अवधिभित्र वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको ‘इन्टरनेटसँगै प्रिमियम आईपीटिभी प्याकेज’ नयाँ जडान गर्ने, पुराना प्याकेजहरू नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति (अपग्रेड) गर्ने ग्राहकहरूले यो फिफा विश्वकप टिभी प्याकेज बोनसका रूपमा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्ने टेलिकमले जनाएको छ । यो बोनस प्याकेज दाबी गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१६# डायल गर्नुपर्नेछ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई सधैँ उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न प्रतिबद्ध रहँदै आएको जनाएको छ ।

1

Scroll to Top