राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत हुँदा झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार, दही–चिउरा खाने यो रैथाने परम्परा केवल सांस्कृतिक अभ्यासमा मात्र सीमित नभएर नेपाली कृषि अर्थतन्त्र, दुग्ध व्यवसाय र स्वदेशी उत्पादनलाई गति दिने एउटा ठूलो माध्यम बनेको छ। यसले दूध उत्पादक किसानदेखि सहकारी र डेरी उद्योगसम्मको समग्र मूल्य शृङ्खलालाई प्रत्यक्ष फाइदा पुर्याउँछ।
हाल नेपालमा दैनिक ७६ लाख लिटर दूध उत्पादन हुने गरेको छ, जसमा देशभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष जोडिएका छन्। कृषि कुल गार्हस्थ्य उत्पादनमा बलियो हिस्सा ओगटेको यस क्षेत्रले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारीका थुप्रै अवसरहरू सिर्जना गरेको छ।
सांस्कृतिक र आर्थिक महत्त्वसँगै नेपाली समाजमा दही र मोहीको पोषणमूलक योगदान पनि विशिष्ट छ। प्रोटिन, क्याल्सियम, फस्फोरस र भिटामिन बी–१२ जस्ता तत्त्वले भरिपूर्ण दहीले पाचन प्रक्रिया र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। पछिल्लो समय बजारमा कृत्रिम र आयातित पेय पदार्थको दबदबा बढिरहेका बेला रैथाने स्वास्थ्यवर्धक पेय ुमोहीु लाई केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा उत्पादन र प्रवर्द्धन गर्न थाल्नुलाई निकै सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।


