Banijya News

कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

1
1.1K Shares

नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिए । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनबाट एक सय ३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए । प्रवक्ता ढकालले परीक्षणपछि प्रसारण लाइन सञ्चालनमा ल्याइने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। त्यसक्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युतका संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उनले बताए ।

परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताए ।

1

Scroll to Top