युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंस्थित कालीमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा आज आइतबार सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ । सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन् ।
सभाले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारणसमेत गरेको छ ।
सभाले विशेष प्रस्तावहरुमा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रुपमा विकास गर्नको लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको जारी पुँजी बृद्घि गर्ने, हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय र सीडीएस एण्ड क्लियरिङलगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरू कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशनबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ मा १० मेगावाट क्षमताको तल्लो मोदी १ आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।


