स्नो रिभर्स लिमिटेडले आज (बैशाख २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ९३ हजार ७५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
अहिले दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ १ गते हुनेछ भने ढिलोमा जेठ १२ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ । सो जलविद्युत् आयोजनाको विद्युत् अनुमतिपत्र ३१ वर्ष २ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ ।


