माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ असार ३ गतेदेखि जारी हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा गत वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँड गरेपश्चात् कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ रहेको छ ।


