रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत्यु भएका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार, बाढी आएपछि जलविद्युत् केन्द्रमा कार्यरत पाँच कर्मचारी सम्पर्कविहीन भएका थिए । उनीहरूको शव बुधबार जलविद्युत् केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा फेला परेको थियो ।
मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर, चौकीदार तिलकबहादुर थापामगर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन् ।
एसपी रेग्मीका अनुसार, शव पहिचानको प्रक्रिया पूरा भएपछि आज सम्बन्धित परिवारजनलाई बुझाइएको हो ।
बाढीपछि केन्द्रभित्र फसेका कर्मचारीको खोजी तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन भएका थिए । नेपाली सेनाका बाहिनीपतिको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् केन्द्र तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीबाट प्रभावित संरचनामा उद्धार तथा क्षतिको विवरण संकलनको कामसमेत भइरहेको छ ।

