Banijya News

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका युवाहरुको प्रदर्शन, उनीहरुको माग के हो ?

1
1.0K Shares

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले आज सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’, ‘ईपीएस पास गरेका पीडितहरुको भविष्य सुनिश्चित गर’ जस्ता नारा लगाउँदै सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

ईपीएस भाषा परीक्षा र प्रक्रिया पूरा गरे पनि हजारौँ युवा लामो समयदेखि कोरिया जाने अवसर पाएका छैनन् । कोरियाली रोजगारदाताबाट रोस्टरमा परे पनि श्रम सम्झौता नआएको, सीमित कोटा, प्रक्रिया ढिलाइ तथा प्रशासनिक जटिलताका कारण जान नपाएको उनीहरुको गुनासो रहेको छ ।

प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको र तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरे पनि रोजगारका लागि कोरिया जान नपाएको गुनासो गरेका छन् । उनीहरूले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् । साथै, उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुन: रोजगारदातासम्म पठाउन माग गरेका छन् ।

1

Scroll to Top