Banijya News

शैक्षिक परामर्श व्यवसायी सडकमा उत्रिए, नियमावली संशोधन हुनुपर्ने माग

1
1.1K Shares

सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का केही प्रावधान अव्यावहारिक र व्यवसायमैत्री नभएको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

यसअघि हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका व्यवसायीहरूले आज प्लेकार्डसहित सडक प्रदर्शन गर्दै नियमावली संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली जारी गरिएको तथा त्यसका केही व्यवस्था अव्यावहारिक र व्यवसायमैत्री नरहेको भन्दै निरन्तर विरोध गर्दै आएको छ । इक्यानले हाल एक वर्षका लागि मात्र दिइने अनुमतिपत्रको अवधि पाँच वर्ष कायम गर्न साथै शैक्षिक मेला, सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउन माग गरेको छ । साथै, पहिलेदेखि नै सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू नगर्न पनि माग गरेको छ ।

त्यसैगरी, विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्न, दोहोरो कर तथा आय–व्यय विवरण बुझाउने प्रावधान हटाउन पनि इक्यानले माग गरेको छ । त्यस्तै, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्न तथा संस्थागत ग्रेडिङ प्रणाली र धरौटीसम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि व्यवसायीहरूले राखेका छन् ।

1

Scroll to Top