फागुन १५,काठमाडौं ।
गत शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र सेन्टि भाईरस भोली देखि दोस्रो हप्तामा प्रवेश गर्देछ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङगशाला सहयोगार्थ निर्माण गरिएको उक्त चलचित्र सेन्टि भाईरसले पहिलो हप्तामा नै ३ करोडको हारहारीमा व्यापार गर्न सफल भएको छ ।
कलाकारिता हुँदै सामाजिक कार्यमा क्षेत्रमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेको फिल्म ‘सेन्टी भाइरस’ दर्शकले अत्याधिक रुचाएका छन् । उक्त चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यसकारण पनि चलचित्र हेरेको पैसा सामाजिक काममा खर्चहुने हुदा दर्शकहरु फिल्म हेर्न हलहरुमा पुग्ने गरेका छन् ।
अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर फिल्म हेर्न थालेका छन् ।श्रीमान श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा केन्द्रित रहेको उक्त चलचित्र हेर्न जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि बिहीवार कुमारी हलको साँझ ६ बजे र मिट लाइफ इन्सुरेन्सले छायाँ सेन्टरको ३ बजेको शो बुक गरिसकेको कलाकार सिताराम कट्टेलले जानकारी दिए ।
रंगशाला निर्माणमा हातेमालो गरेको भन्दै कलाकार सिताराम कट्टेलले धन्यवाद व्यक्त गरेका छन् । फिल्ममा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।


