गायक सुरेश बस्नेतको स्वर रहेको गीत ‘सधैँ साथमा तिम्रो’ सार्वजनिक गरिएको छ । गोविन्द पुनको शब्द तथा सङ्गीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा गायक सुरेश बस्नेत र रेहा पोखरेलको अभिनय रहेको छ । भिडियोमा रेहा र सुरेशको प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरिएको छ । जुन मोड दुवैको वास्तविक कथा भएको बताइन्छ । गीतको भिडियोलाई अमेरिका, अस्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।
विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशन रहेको भिडियोमा साहिल खानको सम्पादन छ । भिडियोको छायाङ्कन अस्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेर चिकित्सक पेसामा आबद्ध सुरेश र रेहा प्रदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अगाडि बढाइरहेका छन् । आगामी दिनमा पनि गीत सङ्गीत नियमित ल्याउने उनीहरू बताउँछन् ।


