Banijya News

किन विवादमा मुछियो दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ ?

1
1.0K Shares

नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीलाई लिएर यो गीत विवादमा परेको हो ।

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीतप्रति गम्भीर आपत्ति जनाउँदै महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शुक्रबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भदौ ५ गते प्रदर्शनका लागि प्रचार भइरहेको चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक (प्रोमोशनल) सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि नैगम्भीर प्रहार गरेको भन्दै गीतको सार्वजनिक प्रदर्शन तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको सामाजिक प्रतिष्ठा र मर्यादामा प्रतिकूल असर पार्ने उल्लेख गर्दै यस्ता सामग्रीले समाजमा गलत सन्देश प्रवाह गर्ने जनाइएको छ । महासंघले गीतलाई तत्काल सार्वजनिक प्रदर्शनबाट हटाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

साथै, गीतलाई यथावत् निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिप्रति चलचित्र निर्माता तथा त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

उक्त गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको शब्द, प्रस्तुति र नृत्यशैलीलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले यसलाई मनोरञ्जनात्मक प्रस्तुति मानेका छन् भने कतिपयले शिक्षक पेसाको सम्मान र महिला शिक्षकको छविमाथि प्रतिकूल असर पर्ने सामग्री भएको टिप्पणी गरेका छन् । मास्टर्नी गीतको भिडियोमा प्रियंका र दुर्गेशको नृत्यलाई कतिले बोल्ड र रमाइलो भनेका छन् भने  आलोचकहरुले यसलाई नेपाली संस्कृति र पारिवारिक वातावरण सुहाउँदो नभएको प्रतिक्रिया दिएका छन् ।

तर, यस विषयमा चलचित्र निर्माण पक्षले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । महासंघले सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि कलात्मक सामग्री निर्माण गर्दा व्यक्ति, समुदाय र पेसागत गरिमाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।

1

Scroll to Top