Banijya News

आर्थिक मन्दीको असर अटो व्यवसायमा, करिब दश अर्बको गाडी भन्सारमा अलपत्र

1
1.2K Shares

भन्सार नाकाहरुमा करिब दश अर्ब रुपैयाँको गाडी अलपत्र परेका छन् । विभिन्न भन्सार कार्यालयको तथ्यांकअनुसार बिक्रेता कम्पनीले आयात गरेर आर्थिक मन्दीले बजारमा माग नभएपछि नछुटाएका ३ हजार ७ सय ५९ वटा गाडी अलपत्र परेका हुन् ।

करिब चार हजार गाडी नछुटाउँदा सरकारको राजस्व असुली पनि प्रभावित भएको छ ।

यसैगरी,वीरगंज भन्सार कार्यालयमा २ हजार ४५ र भैरहवा भन्सार कार्यालय परिसरमा १ हजार ७१४ वटा साना ठूला गाडी अलपत्र परेका छन् । आर्थिक मन्दीका कारण बजारमा माग नरहेका कारण व्यापारीले गाडी भन्सारबाट छुटाएका छैनन् । भन्सारबाट छुटाउँदा ती गाडीबापत सरकारले करिब ८ अर्ब रुपैयाँ राजस्व पाउँछ ।

यस्तै,भैरहवा भन्सारमा रहेका गाडीमध्ये १ हजार ४०८ गाडी २ महिनाअघि नै आयात गरिएका हुन् । कतिपय गाडी दुई वर्षदेखि छुटाइएको छैन । टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई, इसुजु, किया, टोयोटा लगायत गाडी व्यापारीले छुटाएका छैनन् ।

उक्त गाडी व्यापारीले नछुटाउँदा राजस्व उठाउन नपाएको भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले जनाकारी दिए । भन्सारमा थन्किएका गाडीबाट सवा दुई अर्ब हाराहारी राजस्व उठ्छ ।

सरकारले चालु आर्थिक वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा ६ महिनामा ५ खर्ब १५ अर्ब ४० करोड रुपैयाँ मात्र उठाउन सकेको छ । राजस्वमा दबाब परेपछि भन्सार विभागले व्यापारीहरुलाई गाडी छुटाउन ताकेता गरिरहेको छ।
विभागले गत मंसिर १० मा सार्वजनिक सूचना नै जारी थियो । व्यापारीहरुले भने आर्थिक मन्दीले बजारमा माग नै नरहेको भनेर छुटाउन मानेका छैनन्।

‘व्यापारीले आर्थिक मन्दीलाई कारण देखाएर चालु आर्थिक वर्षको अन्तिमसम्मको समय मागेका छन्,’ गौतमले भने।

कानुनअनुसार भन्सार नाकामा ल्याएको सामान ६० दिनभित्र छुटाइ सक्नुपर्छ। अन्यथा भन्सार कार्यलयले प्रक्रिया पूरा गरेर सामान जफत गर्न सक्ने व्यवस्था छ । तर व्यापारीहरुले गाडीलाई अरु सामानको जस्तो व्यवहार गर्न नहुने बताउँदै आएका छन् ।

1

Scroll to Top