कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिँदैछन्। प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने र सोही बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
विश्वासको मत लिनुपर्ने अवस्था नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आएको हो। कांग्रेसले भदौ ३ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो। समर्थन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले पुनः प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनेको थियो। उक्त सहमतिपछि गएको सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। साउन ९ गते भएको एमाले र नेकपाबीचको सहमतिले प्रदेश सरकार सञ्चालनका लागि दुई दलबीच सहकार्यको बाटो खोलेको थियो।
मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि उनले वैशाख ३१ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उक्त मतदानमा उपस्थित ६२ प्रदेशसभा सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।
पहिलोपटक विश्वासको मत लिँदा कार्कीलाई एमालेका उपसभामुखसहित ४०, तत्कालीन नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का तीन र जनता समाजवादी पार्टी नेपालका एक प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।
तर, प्रदेशको राजनीतिक समीकरण लामो समय एउटै अवस्थामा टिक्न सकेन। एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धनमा परिवर्तन आएपछि कांग्रेससँग सहकार्य गर्दै सरकार अघि बढाइएको थियो। त्यस क्रममा मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।
दोस्रोपटकको मतदानमा कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ प्रदेशसभा सदस्य सहभागी भएका थिए।
अब भने फेरिएको राजनीतिक समीकरणबीच मुख्यमन्त्री कार्कीले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। आजको मतदानले वर्तमान सत्ता गठबन्धनको स्थायित्व र सरकारको आगामी यात्राबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।
९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९ र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित पाँच र जनता समाजवादी पार्टी नेपालका एक सांसद छन्।
संसद्को अंकगणित हेर्दा एमाले र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त संख्या ५७ पुग्छ। त्यसैले यी दुई दलबीचको वर्तमान सहकार्य मुख्यमन्त्री कार्कीका लागि विश्वासको मत जुटाउने मुख्य आधार बनेको छ। यद्यपि प्रदेशसभामा रहेका अन्य दल तथा सांसदको भूमिकाले पनि आजको राजनीतिक समीकरणलाई थप अर्थपूर्ण बनाउने देखिन्छ।


