Banijya News

एमालेको सचिवालय बैठक सुरु

1
1.0K Shares

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। सोमबार बिहान सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन्।

फागुनमा सम्पन्न निर्वाचनपछि पार्टीभित्र निर्वाचन परिणाम र समग्र गतिविधिको समीक्षा गर्न गठन गरिएको कार्यदलले अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएपछि आइतबारको सचिवालय बैठक स्थगित भएको थियो। त्यसै बैठकको निरन्तरताका रूपमा सोमबार पुनः सचिवालय बैठक बसेको हो।

आजैदेखि सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डा तय गर्नु सचिवालय बैठकको प्रमुख कार्यसूची रहेको एमालेले जनाएको छ। निर्वाचनपछिको पार्टीको अवस्था, समीक्षा प्रतिवेदन र आगामी कार्यदिशासहितका विषयमा केन्द्रीय कमिटीमा छलफल हुने तयारी छ।

एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजे ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ। निर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई पार्टीको वर्तमान अवस्था र निर्वाचन परिणामबारे आफ्ना धारणा राख्न पर्याप्त समय उपलब्ध गराउने तयारी गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्। उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले छलफल तथा सुझाव दिने अपेक्षा गरिएको छ।

सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, निर्वाचन समीक्षा र आगामी पार्टी गतिविधिसँग सम्बन्धित विषयलाई अन्तिम रूप दिनेछ। केन्द्रीय कमिटी बैठकमार्फत निर्वाचनपछिको संगठनात्मक अवस्था र आगामी राजनीतिक रणनीतिबारे एमालेभित्र विस्तृत छलफल हुने देखिएको छ।

1

Scroll to Top