Banijya News

खरानीबाट फेरि उठ्यो टंगालको भाटभटेनी, १ वर्षपछि ग्राहकका लागि खुल्यो

1
1.0K Shares

गत वर्ष २४ भदौमा भएको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। मर्मत तथा पुनर्निर्माणको काम सम्पन्न भएपछि बिहान १० बजेदेखि स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो।

स्टोरको पुनः शुभारम्भ भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका हुन्। लामो समयपछि स्टोर खुलेसँगै बिहानैदेखि किनमेलका लागि ग्राहकको उल्लेख्य भीड लागेको थियो।

गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा शाखा मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडाका शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको र ती पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

टंगाल स्टोर पुनर्निर्माणका क्रममा आफूले ठूलो चुनौती सामना गर्नुपरेको गुरुङले बताए। आफ्नै आँखाअगाडि ठूलो परिमाणको सम्पत्ति जलेर नष्ट भएको दृश्यले पीडा दिए पनि त्यसलाई चुनौतीका रूपमा लिएर अघि बढेको उनको भनाइ छ।

“मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु,” गुरुङले भने, “पुनर्निर्माणका क्रममा मेरो हेमोग्लोबिन घटेर ४ सम्म पुगेको थियो। अहिले भने सुधार भएको छ।”

उनले भाटभटेनीलाई व्यक्तिगत व्यवसाय मात्र नभई देशको आर्थिक गतिविधि र रोजगारीसँग जोडिएको संस्थाका रूपमा व्याख्या गरे। भाटभटेनीमा हजारौं नेपालीले रोजगारी पाएको र कम्पनीले ठूलो परिमाणमा राज्यलाई राजस्व बुझाउँदै आएको उनको भनाइ छ।

गुरुङले ४२ वर्षअघि १२० स्क्वायर फिटको भाडाको कोठाबाट श्रीमतीको गहना बेचेर जुटाएको ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको स्मरण गरे। “यही देशमा गर्ने हो, यहीँ मर्ने हो,” उनले भने, “देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ।”

उनले आगामी १५ वर्षमा इमानदार नेतृत्व र उपयुक्त वातावरण पाए नेपाल विकसित मुलुक बन्न सक्ने विश्वास पनि व्यक्त गरे। निजी क्षेत्रका लगानी र सम्पत्तिको सुरक्षाका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको आग्रह छ।

पुनः सञ्चालनमा आएको टंगाल शाखाबाट ग्राहकले आधुनिक, सहज र गुणस्तरीय सेवा निरन्तर पाउने कम्पनीले जनाएको छ।

स्टोर खुलेपछि नियमित ग्राहकहरू पनि उत्साहित देखिए। मूलपानीकी विष्णु भण्डारीले टंगाल शाखा बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न निकै समस्या भएको बताइन्। विभिन्न सामानका लागि फरक–फरक स्थानमा जानुपर्ने अवस्था अन्त्य भएकामा उनले खुसी व्यक्त गरिन्।

त्यस्तै, भाटभटेनीका अर्का नियमित ग्राहक गोविन्द रेग्मीले छोटो समयमै पुनर्निर्माण गरेर स्टोर सञ्चालनमा ल्याउनुलाई उत्साहजनक उदाहरणका रूपमा लिए। उनका अनुसार कठिन परिस्थितिपछि पनि नयाँ स्वरूपमा स्टोर सञ्चालनमा आउनुले निरन्तर प्रयास र दृढ इच्छाशक्तिको महत्व देखाएको छ।

पुनर्निर्माणमा खटिएका इन्जिनियर, कर्मचारी, सहयोगी संस्था, सञ्चारमाध्यम तथा स्वदेश–विदेशबाट साथ र हौसला दिने सबैप्रति गुरुङले आभार व्यक्त गरेका छन्।

1

Scroll to Top