६ चैत, काठमाडौं ।
कोरोना भाइरसको महामारी विश्वव्यापी बनिसकेको छ । तर, दुई शक्तिशाली देशहरु अमेरिका र चीन यस विषयमा आरोप प्रत्यारोपको जुहारीमा उत्रिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भनेपछि चीनले आपत्ति जनाएको छ। उनले ट्वीटमार्फत् चाइनिज भाइरस भने । यसअघि उनले विदेशी भाइरस भन्दै आएका थिए ।
कोरोना भाइरस (कोभिड–१९)को पहिलो बिरामी सन् २०१९ को अन्तिममा चीनको उहान सहरमा पाइएको थियो। तर, गत साता चिनियाँ विदेश मन्त्रालयले कोरोना भाइरसलाई एक षडयन्त्र बताउँदै अमेरिकी सेनाले उक्त भाइरस आफ्नो क्षेत्रमा ल्याएको दाबी गरेका थिए।
सोमबारबाट चीनलाई बाँकी विश्वले कोरोना भाइरस संक्रमणमा उछिन्यो । चीनले भाइरस संक्रमणको वृद्धिदर घटाउने सफलता हासिल गरिरहँदा युरोप र अमेरिकामा बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले यस भाइरसलाई कुनै खास समूह या क्षेत्रसँग जोड्नु गलत भएको बताएको छ। तर, कैयौं अमेरिकी प्रशासनिक अधिकारी यसलाई चिनियाँ भाइरस नै भनिरहेका छन्। पोम्पियोले पनि कैयौं पटक यसलाई ‘उहान भाइरस’ भनिसकेका छन्।
भाइरसको संक्रमणले न त चीनलाई छाड्यो न त अमेरिकालाई नै । तर, कोरोना संक्रमणसँग विश्व मिलेर जुध्नुपर्ने बेलामा अमेरिका र चीन जस्ता देशहरु एक अर्काविरुद्ध यसैलाई विषय बनाएर आरोपमा उत्रिएका छन् ।


