Banijya News

ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम

1
1.0K Shares

सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूमाथि कडाइ गर्दै सरकारी बाँकी रकम दाखिला गर्न ३५ दिने अन्तिम म्याद जारी गरेको छ। करारीय दायित्व पूरा नगरेपछि रद्द गरिएका आयोजनाहरूबाट असुल गर्नुपर्ने रकम पटक-पटक ताकेता गर्दा पनि नबुझाइएकाले कार्यालयले सार्वजनिक सूचनामार्फत अन्तिम मौका दिएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार यो कारबाही प्रक्रिया अघि बढाइएको हो। व्यवसायीहरूले तोकिएको समयभित्र नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खाता (खाता नं. ००१०१००००००००१००१००१, राजस्व कोड १४३१२, कार्यालय कोड ३३७०१०३०१) मा रकम जम्मा गरी बैंक भौचर डिभिजन कार्यालयमा पेस गर्नुपर्नेछ।

सडक डिभिजन इलामका अनुसार सबैभन्दा बढी बक्यौता मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा.लि.का दुई ठेक्काको (क्रमशः रु ४ करोड ५९ लाखभन्दा बढी र रु ३ करोड ४२ लाखभन्दा बढी) रहेको छ। त्यसैगरी धनुषाको गायत्री माँ/समरित जे.भी.को रु १ करोड ९९ लाखभन्दा बढी, आशिवर्दि/पूजा जे.भी. धनकुटाको रु १ करोड ७१ लाखभन्दा बढी, र माईजोगमाई इलामको एबिसि निर्माण सेवाको रु १ करोड १८ लाखभन्दा बढी रकम असुल हुन बाँकी छ। ताप्लेजुङको मावोहाङ निर्माण सेवाले पनि रु १ करोड ८ लाखभन्दा बढी बुझाउनुपर्नेछ।

अन्य बक्यौता बाँकी रहने निर्माण कम्पनीहरूमा धनकुटाको शाहर/पूजा जे.भी.का दुई ठेक्का (रु ८६ लाख ३३ हजार र रु ५७ लाख ३६ हजारभन्दा बढी), पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन (रु ७९ लाख ४९ हजारभन्दा बढी), धनुषाको के.एम. कन्स्ट्रक्सन (रु ३६ लाख ८७ हजारभन्दा बढी), पाँचथरको बुढाथोकी निर्माण सेवा (रु २३ लाख ४ हजारभन्दा बढी) र इलामको एम.डि.ब्रो. कन्स्ट्रक्सन (रु ९ लाख ३४ हजारभन्दा बढी) रहेका छन्। तोकिएको ३५ दिनभित्र रकम दाखिला नगरे कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

1

Scroll to Top