चैत ०७, काठमाडौं ।
विश्वभर फैलिएको कोरोना त्रासका कारण अर्थतन्त्र नै उथलपुथल भएको छ । कामदार पठाउनै क्रम रोकिएको छ भने विदेशबाट नेपाल फर्कने क्रम पनि केही समयका लागि स्थगत भएको छ ।
विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण कैयन मुलुकले कामदार लिन बन्द गरेका छन् । ती मुलुकका धेरै उद्योगधन्दाको काम रोकिएको छ । सरकारले कामदार विदेश पठाउन पनि रोकेको छ ।
धेरै गन्तव्य मुलुक कारोना भाइरसको संक्रमणग्रस्त बनेका आवतजाबत नै बन्द हुने अवस्था सृजना भएको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम फेरि घट्न थालेको छ । रेमिट्यान्समा आएको संकुचनका कारण समग्र राष्ट्रिय बचत समेतमा प्रभाव परेको छ ।
आर्थिक वर्षको सात महिनाको विवरणअनुसार, पुस महिनामा केही बढेको रेमिट्यान्स अहिले घटेको छ । गत वर्ष साढे २८ प्रतिशतले बढे पनि यो वर्षको सुरुदेखि नै उत्साहजनक रुपमा बढ्न सकेको थिएन । गत कात्तिकसम्ममा दुई दशमलव तीन प्रतिशतले घटेको रेमिट्यान्स मंसिर र पुसमा झीनो वृद्धि देखिएको थियो । मंसिरमा शुन्य दशमलव १ प्रतिशतले बढेको रेमिट्यान्स पुसमा शुन्य दशमलव ९ प्रतिशतले बढेको थियो ।
माघ महिनामा मै रेमिट्यान्स गत वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशतले घटेको छ । त्यसैगरि पुस महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम २६ अर्बले बचतमा रहेको थियो भने अहिले घटेर २१ अर्ब ६१ करोडमा सीमित भएको छ । निर्यातको तुलनामा आयातको वृद्धि खासै नहुँदा पनि रेमिट्यान्सको संकुचनका कारण शोधनान्तर बचतमा असर परेको हो । विदेशी मुद्रा सञ्चिति १० खर्ब ९६ अर्ब रहेको छ, जुन ८ महिनालाई वस्तु तथा सेवा आयात धान्न मिल्ने राष्ट्र बैंकको आकलन छ । बैंकहरुले ऋण प्रवाहमा लिने ब्याज भने गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा केही घटेको देखिन्छ । यो वर्षको माघ महिनासम्ममा ऋणको औसत ब्याज ११ दशमलव ९(४ प्रतिशत छ । जुन अघिल्लो वर्षको माघ महिनामा १२ दशमलब ३(४ प्रतिशत थियो । कर्जा विस्तारमा केही सुस्तता आएकाले बैंकहरुले ऋणको ब्याज घटाउन थालेका हुन् ।


