चैत ०८, काठमाडौं ।
कोभिड-१९ बाट अहिले विश्व नै आतंकित बनेको छ । मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरसबाट विश्वका सैयौँ देश संक्रमित भएका छन्।
नेपालमा पनि कोरोनाबाट एकजना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपाल सरकारले भने नेपालमा कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ ।
नेपालजस्ता संक्रमण नदेखिएका देशले यो भाइरस आउनै नदिन चाल्नु पर्ने कदम चालिरहेका छन्। तै पनि भाइरस तीव्र गतिमा फैलिरहेको छ।
कुन रोगका बिरामी कोरोनाको उच्च जोखिममा?
कोरोनाभाइरस व्यक्तिबाट अर्को अस्वस्थ्य व्यक्तिमा संक्रमण भएमा मृत्यु हुने दर बढी हुन्छ । अन्य कुनै रोगबाट पहिलेदेखि नै ग्रसित रहेकाले भने विशेष सतर्कता अपनाउनुपर्छ।
कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मुटुसम्बन्धी रोग भएकाहरू छन्। कोरोना भाइरसबाट १३.२ प्रतिशत मुटुरोग लागेकाहरुको मृत्यु भएको छ।
त्यसमा पनि मधुमेह, उच्च रक्तचाप, मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसको मृत्यु हुने जोखिम सामान्यभन्दा पाँच गुणा बढी हुन्छ ।
कुनै पनि रोग नभएकाहरू भन्दा दीर्घरोगको समस्या भएकाहरूमा यो भाइरसले बढी प्रभावित पारेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनले सबै किसिमका श्वासप्रश्वास रोगबाट जोगिनका लागि साबुनपानीले हात धुन, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्न सुझाव दिएको छ ।


