अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटले कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै खतिवडाले कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्नुपर्ने देखिएकाले त्यसतर्फ ध्यान दिइने बताएका हुन् । खतिवडाले भने ‘कोरोना भाइरसका कारण देशले गम्भीर आर्थिक क्षति बेहोरेको छ । श्रम बजार, पर्यटन र आपूर्तिमा गहिरो असर परेको छ ।,’ उनले अगाडि थपे, ‘आगामी सरकारको बजेटले सुशासन र समृद्धिको बाटोमा कोरोना भाइरसले असर पारेको क्षेत्रमा खर्च गर्ने छ । लोक कल्याणकारी राज्यको अवधारणमा द्रुत विकासमा ध्यान दिइने छ।’
खतिवडाले विश्वमै ठूलो धनजनको क्षति हुँदा अर्थतन्त्र नराम्ररी प्रभावित भएको र सोबाट माथि उठजको लागि सोही अनुसारको बजेट ल्याउँने उनले बताएका हुन् । नेपाल सरकारले पूर्व सावधानी अपनाउँदै केही उपाय अपनाएका कारण कोरोना संक्रमणको प्रभाव कम भएको र अव कसरी खस्केको अर्थतन्त्र माथि उकास्ने भन्नेमा सरकार लागेकोले सोही अनुसारको आर्थिक नीति ल्याउने उनले बताए ।
विदेशबाट फर्केकालाई कृषिलगायत अन्य क्षेत्रमा रोजगार गराउने कार्यमा सरकारले ध्यान दिने उनले बताए । ‘घोषणापत्र र सरकारले लिएको लक्ष्यसँगै कोरोना महामारी नियन्त्रण गर्ने र अर्थतन्त्र उकास्दै लोककल्याणकारी राज्यको रुपमा तर्फ ध्यान दिने बजेट आउने छ,’ उनले भने, ‘सबै नागरिकको उत्पादनमा अधिकार दिइने छ । राज्यले कमजोर वर्गलाई ध्यान दिने छ । कृषि क्रान्तितर्फ सरकारले ध्यान दिने छ ।’
अर्थतन्त्रलाई गतिशिल बनाउने, स्वास्थ्य पुर्वाधार तथा विपद् पुर्वको तयारीलाई प्राथमिकता राखे पनि मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा १५औँ योजना र दीगो विकासका लक्ष्य हासिल गर्न तर्जुमा गरिएका राष्ट्रिय रणनीतिहरुलाई पनि विशेष ध्यान दिइने मन्त्री खतिवडाले बताए। ‘नेपालको संविधानले परिकल्पना गरेको लोककल्याणकारी अवधारणा, समाजवादोन्मुख आर्थिक प्रणालीको जग निर्माण गर्नुपर्ने जिम्मेवारी र द्रुत विकास प्रतिको जनआकांक्षालाई प्रमुख मार्गदर्शकको रुपमा लिएको छु। राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व एवं नागरिकका मौलिक हकमा बनेका कानुनहरुबाट श्रृजित दायित्वहरुलाई बजेट तर्जुमाको आधारको रुपमा लिइने छ’, खतिवडाको प्रस्तावमा भनिएको छ। कर पालनालाई प्राथमिकता दिने, मुल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, वित्तीय प्रणालीलाई उत्पादनमुखी बनाउने,रोजगारी गुमाएकालाई रोजगारी दिने तथा कृषि क्रान्तिका लागि स्रोतसाधन परिचालन गर्ने गरि बजेटमा प्राथमिकता दिइने भएको छ।


