Banijya News

प्रहरीमा कोरोना संक्रमण भएपछि उनी बस्ने ललितपुरको एक घर सिल

1
1.1K Shares

महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा १ घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ प्रहरीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै तीमध्येका १ प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरेका हुन् । 

सो घरमा आमासहित ९  मानिस बस्दै आएका छन् । उनीहरूको पीसीआर  विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छौँ ।’ स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले जानकारी दिए । 

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आएर मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार ४ घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ । रासस

1

Scroll to Top