Banijya News

नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा

1
1.0K Shares

काठमाडौँ– कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो।

विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो। यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो। सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ। विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ।

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ। जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन्।

कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पिसिआर परीक्षण गर्नुपर्छ। कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन। अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन्। जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ। रासस

1

Scroll to Top