१२ असार, काठमाडौं ।
मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको जिपकाे ठक्करबाट तीन जनाको ज्यान गएको हो।
सुरुमा स्कोरपिओले हिँडिरहेकी पैदल यात्री महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
ठक्करबाट मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ।
स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ। झापाको दमकमा दुई जनालाई छाडेर स्कोरपिओ इटहरीतर्फ फर्कँदा दुर्घटना भएको थियो।


