जगदम्बा मास्क उद्योगले एन–९५ र केएन–९५ मास्क उत्पादन सुरु गरेको छ । २० करोड रुपैयाँको लगानीमा जगदम्बा समूहले रुपन्देहीमा स्थापना शुरु गरेको हो । उद्योगले परीक्षण उत्पादन सकेर व्यवसायीक रुपमै मास्कको उत्पादन थालेको कम्पनीका संचालक साहिल अग्रवालले बताए । एन–९५ मास्क सबैप्रकारका भाइरबाट बच्नका लागि सबैभन्दा सुरक्षित मानिन्छ ।
सिमेन्ट र फलामे छड जस्ता निर्माणजन्य उद्योगमा लगानी गरेको जगदम्बा समूहले मास्क पनि उत्पादन गर्न थालेको हो । जगदम्बा समूह एन–९५ मास्क उत्पादन गर्ने नेपालमै पहिलो हो । केही उद्योगहरुले केएन–९५ मास्क उत्पादन गरेपनि ठूलो परिमाणमा उत्पादन थालिसकेका छैनन् । विश्वव्यापी कोरोना भाइरसको संक्रमणपछि मास्कको माग बढ्दै जाँदा यो उद्योग स्थापना गरेको अग्रवालले बताए ।
रुपन्देहीमा खुलेको उद्योगले वार्षिक तीन करोड थान एन–९५ मास्क उत्पादन गर्ने छ । यस्तै, सोही परिमाणमा केएन–९५ मास्क उत्पादन गर्ने कम्पनीले बताएको छ । उद्योगले वार्षिक पाँच करोड थान सर्जिकल मास्क उत्पादन गर्ने छ । मास्क उद्योगले २१ जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।


