Banijya News

बझाङको पहिरोमा उद्धार गर्न गएको सेनाको गाडी नै पहिरोले बगायो

1
1.1K Shares

बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोले बगाएको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा ३ जना घाइते समेत भएका छन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो ।


शनिबार मध्यान्हसम्म ३ जनाको शव भेटिएको गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख घनराज जोशीले जानकारी दिए । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ । पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।

घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको छ । स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या भएकोले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुग्न सकेको छैन् ।

1

Scroll to Top