काठमाडौं- सरकारले अतिरिक्त महानिरिक्षक-एआईजी शैलेस थापालाई नेपाल प्रहरीको महानिरिक्षक-आईजिपीमा बढुवा गरेको छ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। २०७९ बैशाख १८ सम्म उनी नेपाल प्रहरीको आईजिपी रहनेछन्। वर्तमान आईजिपी ठाकुर प्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन्। थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।
सरकारले लगातार तेस्रोपटक वरियतामा शीर्षस्थानमा रहेकालाई संगठनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली पनि आफ्ना ब्याचीमध्ये पहिलो नम्बरमा थिए। खनाल डीआईजीबाट सोझै आईजी बनेका थिए।
भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन्। प्रहरी निरिक्षक रहँदा उनले प्रहरी एकेडेमी, आईजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए।
उनले नायब उपरिक्षक-डीएसपीमा धादिङ, महानिरिक्षक सचिवालय र प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरिक्षक-एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो,प्रहरी एकेडेमी र आईजिपी सचिवालयमा पनि काम गरेका थिए।
प्रहरीमा भर्ती हुँदा देखि नै पहिलो नम्बरमा रहेका थापा विजय गच्छदार गृहमन्त्री हुँदा पछि पारिए पनि त्यसपछि सधैं पहिलो नम्बरमै छन् । थापाले यसअघिका पाँच जना आईजीसँग सचिवालयमा रहेर समेत काम गरिसकेका छन् । डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।


