Banijya News

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छः प्रधानमन्त्री ओली

1
1.0K Shares

काठमाडौं । भारतमाथि आक्रमक रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरी भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको तर्क छ ।


‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं’, प्रधानमन्त्री ओलीले भने, ‘भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो । उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन।’ त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’


अयोध्या ठोरीमै भएको तर्क गर्दै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पु¥याइदिए, फर्किए ।’ ओलीले भने ।

1

Scroll to Top