श्रावण ११, काठमाडौ
कञ्चनपुर भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भयो । त्यसको भोलिपल्ट साउन ११ साउन मा भीमदत्त–१८ निम्बुखेडास्थित उखुबारीमा उनको शव फेला प¥यो । पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर गरेको छ । तर घटनाको दुई वर्षसम्म पनि हत्या प्रकरणका अभियुक्त पहिचान हुन सकेका छैनन् । बरु थप अनुसन्धान नै ठप्प बनेको छ ।
निर्मलाको हत्या भएको दुई वर्षको अवधिमा प्रहरीले थुप्रै आरोपी पक्राउ ग¥यो । तर कसले, कसरी र किन हत्या ग¥यो भन्ने गतिलो प्रमाण नभेटिएकोले पक्राउ परेकाहरू केही समयमै छुटे । निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो । सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए । तर दुई वर्षसम्म घटना रहस्यमै छ ।
घटना भएको २४ औं दिनमा प्रहरीले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर विष्ट अभियुक्त भएको प्रहरी दाबीमा कञ्चनपुरबासी सहमत भएनन् र आन्दोलन सुरु भयो । आन्दोलन उग्र बन्दै गर्दा विष्टको डीएनए मेल नखाएपछि उनी छुटे ।
आठ प्रहरी विरुद्ध मुद्धा दायर
हत्या प्रकरणको अनुसन्धानमा खटिएका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सइहरू रामसिंह धामी र हरसिंह धामी तथा जवान चाँदनी साउद गरि आठ प्रहरी विरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोग कञ्चनपुर जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका छन्, तर मुद्दा किनारा लागेको छैन । उक्त मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई गति दिने प्रहरी तयारी छ ।
नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्रीले घटनालाई नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी स्रोतको दाबी छ । यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले आफ्नो कार्यकालमा यस अनुसन्धानलाई निष्कर्षमा पु¥याउन दुवै असफल भए । प्रहरी स्रोतका अनुसार अहिले मुद्दा खेपिरहेका प्रहरीले औँल्याएका अभियुक्त दिलीपसिंह विष्टकै नजिक पछिल्लो अनुसन्धान पुगेको छ । निर्मलाकी आमाले विष्टविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरमा माघ ०७६ मा बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि प्रहरीलाई १७ बुँदे निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्रहरीले तयार पारेको थप विवरणका आधारमा जसमा दिलीपले नै निर्मलाको हत्या गरेको प्रमाण रहेको प्रहरी स्रोतको भनाई रहेको छ । प्रहरी विरुद्धको मुद्दा अदालतबाट टुंगिएपछि मात्र अब यो मुद्दा प्रक्रिया अगाडि बढाउने प्रहरी स्रोतले जनाएको छ ।
न्याय नपाउने परिवारको चिन्ता
निर्मलाको परिवारलाई भने न्याय नपाइने हो कि भन्ने चिन्ता छ । छोरीको हत्या भएको दुई वर्ष पुग्दा सम्म न्यायका लागि आवाज उठाउँदा पनि प्रहरीले अपराधी समात्न नसकेको आमा दुर्गादेवीको गुनासो रहेको छ । निर्मलाका बुवा यज्ञराजले न्यायका लागि कुनै कसर बाँकी नराखेको बताए । न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यान नै गयो, तर सरकारले चासो नदिएको उनको भनाई रहेको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलीपसिंह विष्टमाथि नै शंका रहेको बताएकी छन् । साइकलको चेन बिग्रेको आफूलाई जानकारी रहेको र दिलीपले पनि त्यही कुरा भिडियोमा बोलेको उनले बताइन् । दिलीपको भिडियो हेरेर उसैमाथि शंका लागेको बताउछिन् । दिलीप होइन भने अर्को अपराधी किन आएन ? परिवारका सदस्य मात्रै होइन, छिमेकी र अधिकारकर्मीहरू पनि पन्त परिवारले न्याय पाउँदैनन् कि भन्ने चिन्तामा छन् । निर्मलाको हत्या भएको दुई वर्ष पुगेकै दिन दुर्गादेवी एकाबिहानै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेकी थिइन् । एसपी मुकुन्द मरासिनीलाई नभेटेपछि हालै आएका डिएसपी अमर थापालाई केही थाहा नभएको भन्दै फर्किइन् ।
दोषी पत्ता लगाउने बलियो प्रमाण नहुनु
सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले आफुहरु अनुसन्धानको क्रममा नै रहेको बताए । अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न नसकेको र सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पु¥याउन प्रयत्नरत रहेको उनको भनाई रहेको छ ।
प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी नभएको बताए । एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल रहेको उनको भनाई रहेको छ ।


